कोरोनापछि देखियो नयाँ भाइरस, मृत्युदर ८८ प्रतिशत

काठमाडौं । कोरोनासँग जुधिरहेको संसारका अगाडि एउटा नयाँ भाइरस चुनौतीका रुपमा आएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गिनीमा मारबर्ग भाइरस (Marburg virus) देखापरेको जनाएको छ । डब्ल्यूएचओका अनुसार पश्चिम अफ्रिकामा देखिएको मारबर्ग भाइरसको यो पहिलो घटना हो । यो प्राणघातक भाइरस इबोलासँग सम्बन्धित छ । यो कोरोनाजस्तै जनावरबाट मानिसमा सरेको हो ।
डब्ल्यूएचओका अनुसार यो भाइरस चमेराबाट फैलन्छ भने यसमा मानव मृत्युदर ८८ प्रतिशतसम्म हुन्छ । २ अगस्तमा गिनीको दक्षिणी प्रान्त गुएकेडौमा एक बिरामीको मृत्यु भएको थियो र उसैमा यो भाइरस फेला परेको हो । पोस्टमार्टम रिपोर्टमा उक्त व्यक्तिको शरीरमा इबोला त पाइएन बरु मारबर्ग भाइरस विद्यमान भएको पुष्टि भयो ।
अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. मात्शिदिसो मोएतीका अनुसार यो मारबर्ग भाइरसलाई टाढा-टाढासम्म फैलन नदिन यसलाई उसकै परिधिभित्र रोक्न जरुरी छ ।
गिनीमा मारबर्ग भाइरस त्यस्तो बेला फेला पर्यो जसको दुई महिनाअघि मात्र डब्ल्यूएचओले त्यहाँ इबोला भाइरस उन्मूलन भएको घोषणा गरेको थियो । गएको वर्ष गिनीमा इबोला भाइरसको संक्रमण देखापर्यो जसमा १२ जनाले ज्यान गुमाए । डब्ल्यूएचओले यो भाइरसको खतरा क्षेत्रीय स्तरमा बढी र अन्तर्राष्ट्रिय स्तरमा कम भएको बताएको छ ।
डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. मोएतीका अनुसार यो मारबर्ग भाइरसका विषयमा विश्व स्वास्थ्य संगठनले गिनीका स्वास्थ्य अधिकारिहरुसँग मिलेर काम गरिरहेको छ । गिनीमा इबोला नियन्त्रणमा काम गरेकाहरुको अनुभव तथा विशेषज्ञताका आधारमा यो नयाँ भाइरसलाई रोक्ने प्रयास भइरहेको छ । यता गिनी सरकारले पनि एक आधिकारिक वक्तव्यमार्फत मार्फत मारबर्ग भाइरस फेला परेको पुष्टि गरेको छ ।
डब्ल्यूएचओका अनुसार मारबर्ग भाइरस साधारणत: ती गुफा वा खानेकुरामा पाइन्छ जहाँ रोसेटस् जातका चमेराहरु रहन्छन् । यो भाइरस संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतहका साथै विभिन्न सामग्रीहरुको सम्पर्कबाट फैलन्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया