‘जनताको म्यान्डेटलाई ओलीले अपमान गरे’

नेपालखोज २०७८ साउन २७ गते १३:२३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको बताएका छन् । उनले यसबाट पाठ सिक्नुपर्ने पनि बताए ।

जनताले दिएको म्यान्डेटको अपमान गरेर मै विधि, मै कानुन, मैले जे गरे पनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै नेता सिंहले संविधान र कानुनभन्दा माथि कोही पनि नहुने बताए ।

ओलीमा बढेको अहंले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको भन्दै ओलीमा भनाइ र गराइ फरक रहेको दाबीसमेत गरे । आफ्नो शासनकालमा के-कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गर्दै मै सबथोक, मै बोलेपछि, मैले भनेपछि किन नहुने ? भनेकै कारण झन्डै दुईतिहाइको सरकार बालुवाटारबाट बालकोट पुगेको बाट सबैले पाठ सिक्नुपर्ने सिंहले बताए ।

समयको माग र जनचाहनाअनुरुप विधि-प्रक्रियाबाट नचल्दाको परिणाम ओली सरकारको बहिर्गमन रहेकाले यसमा सबै राजनीतिक दल गम्भीर बनेर अघि बढ्नुपर्ने उनले बताए ।

भक्तपुरको मध्यपुर नगरपालिका ३ को नवनिर्मित वडा कार्यालय भवनको उद्‌घाटन गर्दै नेता सिंहले जनप्रतिनिधि, जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्ने भन्दै जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वसाथ हेरिरहेको बताए ।
-तस्बिर : यूपी लामिछाने

प्रतिक्रिया