शनिबार, जेठ ४, २०८२

स्वस्थ र सुखी जीवनका लागि जैविक इन्धन

‘जैविक इन्धन भविष्यको ऊर्जा हो’

नेपालखोज २०७८ साउन २८ गते ८:०२

काठमाडौं । इन्धनको गैरपरम्परागत स्रोतबारे जागरुकता फैलाउने उद्देश्यले विश्व जैविक इन्धन दिवस मनाइन्छ । यो दिवस सर रुडल्फ डिजलको अनुसन्धान एवं प्रयोगको सम्मानमा प्रत्येक वर्षको १० अगस्तका दिन मनाइँदै आएको छ । डिजलले सन् १८५३ मा बदामको (मुंगफली) तेलबाट इन्जिन चलाएर देखाएका थिए । उनको यही प्रयोगले इन्जिनमा परम्परागत इन्धनको ठाउँमा जैविक तेल प्रयोग गर्न सकिने सम्भावनाको ढोका खोलेको थियो ।

यसपटकको विश्व जैविक इन्धन दिवसको मूख्य नारा ‘सुरक्षित पर्यावरणका लागि जैविक इन्धन’ राखिएको थियो । यसको उद्देश्य अन्य इन्धनलाई पूर्ण रूपमा विस्थापित गर्नु नभएर सन्तुलित स्थिति सिर्जना गर्नु हो । जैविक इन्धनको व्यवहारिक प्रयोग देशको आर्थिक स्थितिमा सुधार ल्याउन गर्न सकिने कुरा बताइँदै आएको छ ।

जैविक इन्धन हाल प्रयोगमा रहेका इन्धनको प्राकृतिक र हानिरहित विकल्प हुनसक्ने विषयमा वैज्ञानिकहरु एकमत छन् । अहिले संसारभर जैविक इन्धनलाई बढावा दिने विभिन्न परियोजना सञ्चालनमा छन् ।

यो इन्धन प्राकृतिक वस्तु जस्तो- रुख-पात, कुहिएर जाने फोहोर, मानव वा पशुको अपशिष्ट आदि बाट प्राप्त गरिन्छ । यस्तो ऊर्जा प्रदूषणरहित हुनुका साथै ऊर्जाको दिगो स्रोतसमेत हुनसक्छ । सस्तो, टिकाऊ, पुनर्प्रयोग गर्न सकिने, बढी गुणस्तरीय जैविक इन्धनका सम्बन्धमा बढी भन्दा बढी अनुसन्धानका साथै जागरुकताको पनि उत्तिकै खाँचो छ ।

रुडल्फ डिजलले उहिले नै भनेका थिए- इन्धनका रुपमा जैविक इन्धन आज महत्त्वहीन लाग्न सक्छ तर यो कुनै दिन त्यति नै महत्त्वपूर्ण साबित हुन सक्छ जति आज किरोसिन, कोलतार आदि छन् । यही विषयमा लुइज इनेसियो लुला डिसिल्भा भन्छन्- जैविक इन्धनको प्रयोग गरिब देशहरुको गरिबी कम गर्न हुनसक्छ । मार्क केनेडीले इथेन र बायोडिजल ऊर्जाको स्वच्छ विकल्प भएको कुरामा जोड दिएका छन् ।

नवीकरणीय संसाधनजस्तो इथेन उत्पादनमा मकै र उखु वा बायोडिजल उत्पादनमा सोयाबिन आदिको प्रयोग गरेर वैकल्पिक इन्धनको विकास गर्ने दिशामा पनि महत्त्वपूर्ण कामहरु भएका छन् । हामीले के बिर्सनु हुँदैन भने संसारमा अहिले प्रयोग भइरहेको इन्धन महँगो मात्र छैन यसले हाम्रो पृथ्वी र पर्यावरणलाई लगातार नोक्सान पुर्‍याउँदै आएको छ । यसको स्मार्ट र दीर्घकालीन विकल्प जैविक इन्धन नै हो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया