शनिबार, असार १४, २०८२

अफगानिस्तानमा केही सातायता दशौं हजार नागरिक विस्थापित

नेपालखोज २०७८ साउन २८ गते १४:१७

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले पछिल्ला केही सातायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौं हजार नागरिक भागेको बताएको छ ।

संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरू गरेको जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरु आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन् ।

जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्ये भएका छन् । यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् ।

अहिले यहाँका विस्थापित नागरिकहरु आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् । यहाँ कतिपय सहायता एजेन्सीले उनीहरुलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न शहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबीचमा भीषण सङ्घर्ष जारी रहेको बताइएको छ । जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँं घाइते भएका छन् ।

–––

प्रतिक्रिया