प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सांसद् थापाको आग्रह

नेपालखोज २०७८ साउन २८ गते १८:५९

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैैठकको विशेष समयमा बोल्दै सांसद् थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दंभ, आक्रोश र कुण्ठा भएपनि प्रश्न प्रश्न नै भएको भन्दै एक एक उत्तर दिन सरकारलाई आग्रह गरे ।

साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरुमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरता पुर्वक लिन सरकारलाई सुझाव दिए ।

उनले भने, “प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो । ईष्या थियो । रिस थियो । कुण्ठा थियो । तर पनि म भन्न चाहन्छु । प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुदैन । प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापुर्वक लिनुपर्छ । एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ । ”

२०७६ साल बैैशाख २४ गते तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नियमापत्ति गरेका थिए । प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो ।

सांसद थापाले नेपाली भूमि फिर्ता र एमसिसिबारे प्रश्न गर्ने प्रतिपक्षी दलका नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी प्रश्न गरे ?

पञ्चायतपछि सत्तापक्षकै दलले सडकमा प्रर्दशन गरेको उल्लेख गर्दे सांसद थापाले विपक्षी दलसंग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधान विपरित संबैधानिक परिषद्बाट प्रतिपक्षलाई निकाल्ने काम गरेको भनी व्यंग्य गरे । उनले आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका नेता ओलीले घाईते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरे ।

सांसद थापाले दु्रत गतिमा मन्त्रीपरिषद्लाई पुर्णता दिई नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गरि कोभिड महामारी फैलिन नदिने तर्फका तयारी व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराए । महामारीले देखिने गरि स्वास्थ्य क्षेत्र थला परेको र गैह्र स्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको भन्दै उनले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औैल्याए ।

प्रतिक्रिया