लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
केसीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामीण तथा सहरी विकासमन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकासमन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजनामन्त्रीको शपथ लिएका हुन् ।
त्यस्तै, जसपाका पुर्मती ढेंगा र सुमन शर्माले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । त्यसैगरी नवलपरासीबाट सूर्य चिह्नमा चुनाव जितेका अजय शाहीले समेत विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेस भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया