झापामा मास्क बैंक स्थापना

झापा । सरकारले सुरुवात गरेको मास्क अभियानलाई सहयोग पुर्यारउने र कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ ।
जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै आएको छ । एकसाताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान सुरू गरेको थियो ।
हाल बैंकमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिए ।
उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लेखनाथ चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।
‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्छौँ’, सभापति गिरीले भन्नुभयो, ‘यसले सरकारले शुरु गरेको अभियानलाई सहयोग पनि पुग्छ र आम नागरिकलाई मास्क लगाउनुपर्ने रहेछ भन्ने सचेतना पनि बढ्छ ।’
जिल्लामा दुई सातादेखि कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढेसँगै निषेधाज्ञा जारी छ । प्रहरीलेसमेत जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने र मास्क नलगाइ हिड्नेलाई मास्क लगाउन अभिप्रेरित गर्दै आइरहेको छ ।

प्रतिक्रिया