नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बूढानीलकण्ठमा जारी

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि जारी छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीबारदेखि सुरु भएको बैठक दोस्रो दिन पनि जारी छ ।
शुक्रबारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राखेका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरी लगायतले आफ्नो धारणा राखेको उनले जानकारी दिए ।
बैठकपछि १४औं महाधिवेशनको परिमार्जित कार्यतालिका आउने उनले बताए । बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने उनले उल्लेख गरे ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए ।
बैठकमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उनले बताए ।

प्रतिक्रिया