सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई आह्वान

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ ।’
बैठकले शनिबारबाट सुरु हुने केन्द्रिय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेस गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ ।
बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया