सरकारलाई सफल बनाउन अधिकतम प्रयास गर्ने माओवादीको निर्णय, केन्द्रीय कमिटी बैठक भोलिदेखि

नेपालखोज २०७८ साउन २९ गते २१:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष दाहालले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देशन दिएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्ने निर्णय भएको छ ।

बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं संवर्द्धनका विषयमा छलफल भएको थियो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलि शनिबारदेखि सुरु हुने भएको छ ।

त्यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया