प्रचण्डले कार्यकर्तालाई भने- सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुनू

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी स्थायी समिति बैठकमा उनले आफ्नो पार्टीसहितको वाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।
सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा वाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ,’ उनले भने ।
बैठकले आज (शनिबार) बाट सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेस गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखापरेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि वाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ । -फाइल तस्बिर

प्रतिक्रिया