आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने माओवादी केन्द्रको प्रस्ताव

नेपालखोज २०७८ साउन ३० गते १४:०८

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो ।

पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रिय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ ।’

बैठकमा अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा पनि अध्यक्ष दाहालको प्रतिवेदनमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठ वटा समूह निर्माण गरी छलफल सुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ ।

सबै समूहले दुवै प्रस्तावमाथि केन्द्रित रहेर छलफल सुरु गरेको र ती समूहहरुका निष्कर्ष भोलि (आइतबार) बिहान ११ बजे पुनः बस्ने केन्द्रिय कार्य समिति बैठकमा पेस हुनेछ ।

सबै समूहको निष्कर्षको आधारमा पार्टीले अध्यक्ष दाहालले प्रस्तुत गर्नु भएको दुवै प्रस्तावउपर आवश्यक निर्णय लिने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।

प्रतिक्रिया