सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले सबै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् ।
केन्द्रिय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
खोपको अभावमा विद्यार्थीहरुले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रिय सदस्यहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराएका पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा नेताहरुले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए ।
पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरुलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरुले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए ।
भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिईरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दवाव थिएका थिए ।
अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई काँग्रेस केन्द्रिय सदस्यहरुले आग्रह गरेका थिए ।
बैठकमा नेताहरुले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया