हेटौंडा अस्पतालमा सुविधा थपेका छौं : मुख्यमन्त्री पौडेल

नेपालखोज २०७८ साउन ३१ गते १४:१६


हेटौंडा । उद्योग संघ मकवानपुरले हेटौँडा अस्पताललाई अक्सिजन जेनेरेटर प्लान्ट प्रदान गरेको छ । दैनिक १ सय २० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमता भएको प्लान्टको उद्योग संघ मकवानपुरले अस्पतालको लागि निर्माण गरिदिएको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अक्सिजन जेनेरेटर प्लान्टको आज (आइतबार ) उद्घाटन गरेका छन् । उनले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको दाबी गरेका छन् ।

५० शय्याको अस्पताललाई तीनसय शय्याको बनाइएको र चाडै नै पाँच सय शय्याको बनाइने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता जनाए । तीनजना चिकित्सकले मात्रै काम गर्दै आएको उक्त अस्पतालमा ५० भन्दा बढी चिकित्सक पनि थप गरिएको छ । अस्पतालमा सघन उपचार कक्ष, एचडियु र भेन्टिलेटरलगायत सुविधा सञ्चालनमा ल्याइएको छ ।

मुख्यमन्त्री पौडेलले चाडै नै मुटु रोग तथा अर्बुद रोग(क्यान्सर) को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले प्रदेश सरकारले हेटौँडा अस्पताल परिसरमा छ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको जानकारी पनि दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको दावी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए । -रासस

प्रतिक्रिया