बुधबार, जेठ १, २०८२

के पारस खड्का राजनीतिमा सक्रिय हुँदै छन् ?

राजनीतिमा खासै चासो र सक्रियता नभएका पारसले कसरी कहाँबाट राजनीति सुरु गर्लान् ? अनुमान लगाउन कठिन छ ।

नेपालखोज २०७८ साउन ३१ गते १५:००

काठमाडौं । हो , हिजो-आज दबिएको स्वरमा यही प्रश्न उठ्न थालेको छ के नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का नेपाली कांग्रेसमा प्रवेश गर्दै छन् ? यो प्रश्नले त्यसै ठाउँ पाएको भने होइन । यो कुरा उठ्ने संयोग स्वयं खड्काले जुराएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि गत साता खड्काले प्रेससामु आफू राजनीतिमा पनि सक्रिय हुनसक्ने कुरा बताएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहुन्जेल कुनै राजनीतिक टिप्पणी नगर्ने र आफूलाई राजनीतिप्रति निरपेक्ष झैं देखाउने खड्काको यो उद्घोष आफैंमा आश्चर्यजनक थियो । त्यसै पनि कम बोल्ने वा आफ्नो विषय (क्रिकेट) बाहेक अरु विषयमा केही नबोल्ने पारसले आफ्नो भावी सक्रियताका सम्बन्धमा बोल्ने क्रममा क्रिकेटवरपर नै रहने कुराका अतिरिक्त राजनीतिमा आउन सक्ने पनि बताएका थिए । राजनीतिमा खासै चासो र सक्रियता नभएका पारसले कसरी कहाँबाट राजनीति सुरु गर्लान् ? अनुमान लगाउन कठिन छ ।

यद्यपि पारसले गत साता नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरे । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि सामान्य ओैपचारिकताका लागि यो भेटघाट गरिएको बताइए पनि कुरा जोड्नेहरुले यो भेट र स्वयं पारसको इच्छालाई जोडेर हेर्ने नै भए ।

उक्त भेटघाटपछि प्रधानमन्त्री देउवाले पनि त्यसलाई उच्च प्राथमिकता दिँदै तस्बिरसहितको एउटा ट्‌विट गरे जसमा उनले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङ (?) मा पनि सफलताको कामना गरेका छन् । त्यसो भए पारसको दोस्रो इनिङ के होला त ? कांग्रेस सभापतिले नै यसरी शुभकामना दिएपछि कुरा उठनु स्वभाविक हो ।

यद्यपि जानकारहरु भन्छन्- पारस तत्काल राजनीतिमा आउँदैनन्, यदि आउन चाहे सबै दल उनका लागि रातो कार्पेट बिछ्याउन तयार छन् । पारस राजनीतिभन्दा पनि नेपाल क्रिकेट संघमा सक्रिय हुन चाहन्छन् तर त्यसका लागि पनि अहिले उनलाई राजनीतिक समर्थन वा सहयोग चाहिन्छ अनि सफल हुन पनि । राजनीति पारसको भविष्यको लक्ष्य हो भने क्रिकेट संघ तत्कालको ।

प्रतिक्रिया