‘प्रतिगामी खतरा अझै टरेको छैन’

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रतिगामी खतरा अझै टरिनसकेको निष्कर्ष निकालेको छ । शनिबार र आइतबार २ दिनसम्म काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित गर्दै प्रतिगामी खतरा कायमै रहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आजको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टीको विधान संशोधन गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ, राजनीतिक प्रतिवेदनमा मूलतः दुईवटा पक्षलाई समावेश गरिएको छ, आजको राजनीतिक कार्यभार र आजको सांगठनिक कार्यभारलगायत समसामयिक विषयमा छलफल भएको छ, राजनीतिक कार्यभारले प्रतिगामी कदम असफल भएको छ, तर प्रतिगामी कदम अन्त्य भएको छैन, त्यसैले प्रतिगामी कदम प्रति सचेत हुँदै संविधान, लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा अघि बढ्नुपर्न निस्कर्ष निकालेको छ, वाम गठबन्धन र सहकार्यलाई सम्मान र लोकतन्त्रको रक्षा, प्रतिगमनको खतरा र राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक छ ।’
माओवादी केन्द्रले प्रतिगामी कदमप्रति सचेत रहँदै संविधानको रक्षा र कार्यान्वयन तथा लोकतन्त्रको रक्षाका लागि सचेत रहन पनि आह्वान गरेको छ । बैठकले आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले पार्टीलाई विचार र क्रान्तिकारी रुपान्तरण गर्न सहयोग पुर्याउने संश्लेषण गर्न सहयोग पुग्ने बताएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले पार्टीलाई जनाधारित पार्टीको रुपमा अघि बढाइने पनि बताए ।
यस्तै पार्टीको केन्द्रीय समिति बैठकले पार्टी कमिटीहरुमा ३५ प्रतिशत महिला, पार्टी केन्द्रमा १५ प्रतिशत दलित र स्थानीय कमिटीहरुमा त्यो बेलाको अनुपातमा २ प्रतिशत थपेर कार्यसमिति बनाइने बताए । बैठकले अहिलेसम्म कायम रहेको जिल्ला समितिहरुलाई खारेज गर्ने निर्णय गरेको पनि उनले बताए । श्रेष्ठले पारित विधान अन्तरिम विधानको रुपमा लागु हुने निर्णय भएको बताए ।
उनले भने, ‘बैठकले आगामी पुस ११,१२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ, पार्टी कमिटीहरुमा ३५ प्रतिशत महिला, पार्टी केन्द्रमा १५ प्रतिशत दलित र स्थानीय कमिटीहरुमा त्यो बेलाको अनुपातमा २ प्रतिशत थपेर कार्यसमिति बनाइनेछ, युवाहरुलाई २० प्रतिशत समावेश गर्ने निर्णय गरिएको छ, अहिलेसम्म कायम रहेको जिल्ला समितिहरुलाई खारेज गर्ने निर्णय गरेको छ, अब जिल्ला समितिको ठाउँमा जिल्ला समन्वय समिति रहनेछ, यो पारित विधान अन्तरिम विधानको रुपमा लागू हुनेछ ।”

उनले केन्द्रीय समितिको बैठकबाट चारवटा समसामयिक विषयहरु पारित गरेको बताए । उनले महकाली नदीमा भारतीय एसएसबीबाट तुइन काटेर जयसिंह धामी बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण भएको र तत्काल सरकारलाई दोषीमाथि कारबाही गर्न माग गर्ने जानकारी दिए । साथै उहाँले पार्टीको केन्द्रीय समिति बैठकमा बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनशनमा ऐक्यबद्धता जनाउने,बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्ने, कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग गर्ने बताए ।
‘हामीले केन्द्रीय समितिको बैठकबाट चारवटा समसामयिक विषयहरु पारित गरेका छौँ, दार्चुलाका जयसिंह धामीको तुइनबाट महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रारम्भदेखि अहिलेसम्मका सबै तथ्यहरुले भारतीय एसएसपीले नै तुइनको तार उकाइदिने काम गरेबाट जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको स्पष्ट छ भन्ने निष्कर्ष पार्टीले निकालेको छ, त्यसैले यो कार्यलाई क्रूर, अमानवीय,अपमानजनक र उत्पीडनकारी ठहर गर्दै विरोध र आपत्ति प्रकट गरेको छ । नेपाल सरकारलाई यस सम्बन्धमा गठित छानबिन टोलीको प्रतिवेदन शीघ्र ल्याइ भारत सरकारसँग कूटनीतिक पहल गरेर दोषीमाथि कारबाही गर्न परिवारलाई क्षतिपूर्ति दिन र यस प्रकारका घटनाहरुको पुनरावृत्ति हुन नदिने दिशामा प्रतिवद्धता व्यक्त गर्न र छिटोभन्दा छिटो पहल अघि बढाउन अपिल गर्नै निर्णय गरेको छ, केही दिनदेखि लन्डनमा बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनशनमा ऐक्यबद्धता जनाउने, बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्ने, कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने,’ उनले भने, ‘सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने । बाढी-पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने । अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।’
उनले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्नेसमेत बताए ।

प्रतिक्रिया