यार्सागुम्बा लुटपाट गरेको अभियोगमा सातजना पक्राउ

नेपालखोज २०७८ साउन ३१ गते २१:४५

काठमाडौं । यार्सा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका ५ का ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका २ का ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ घर भएका २७ वर्षीय दीपक थापामगर, काभ्रे पाँचखाल १२ घर भएका २७ वर्षीय विशाल लामा, काभ्रे तिमाल गाउँपालिका ४ घर भएका २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका २ का २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद इसाक छन् ।

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका दीपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका ६ घर भएका सुरेश सापकोटालाई १ किलो यार्सा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाइ उनीहरूले ल्याएको उक्त यार्सा अपरिचित व्यक्तिहरुले लुटेर फरार भएका थिए ।

उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सा र नगद १ लाख ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया