अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारले बनायो कार्यदल

काठमाडौं । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।
रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शंकरदास बैरागीको कार्यकक्षमा आइतबार अन्तरमन्त्रालयको बैठक बसेको थियो । उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ ।
अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ । यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ ।
आफ्नो अवस्थाबारे जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघ-संस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।
अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँदिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्यांक उपलब्ध गराउनसमेत आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । -रासस

प्रतिक्रिया