आइतबार, वैशाख १६, २०८१

सलमान नयाँ कमेडी फिल्ममा

नेपालखोज २०७८ साउन ३२ गते ९:००

मुम्बई । बलिउड अभिनेता सलमान खान चाँडै निर्देशक अनिष बज्मीका साथ एक कमेडी फिल्ममा काम गर्दै छन् । उक्त चलचित्रलाई जी स्टुडियो र मुराद खेतानीका साथ स्वयं सलमान खानले प्रोड्युस गर्नेछन् ।

‘अन्दाज अपना अपना’, ‘बीबी नम्बर वान’, ‘जुडवा’, ‘मुझ से सादी करोगी’, ‘नो इन्ट्री’, ‘मैं ने प्यार क्यों किया’, ‘पार्टनर’ तथा ‘रेडी’ जस्ता कमेडी फिल्ममा काम गरेका सलमान केही समयदेखि एउटा नयाँ हास्य चलचित्रमा काम गर्न चाहन्थे । त्यसैले उनी हास्य चलचित्रको राम्रो स्क्रिप्टको खोजीमा थिए ।

आखिर उनको यो खोज अब समाप्त भएजस्तै छ । गएको महिना सलमानले यो नयाँ चलचित्रको विषयमा अनिष बज्मीसँग छलफल गरेका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सलमानले ‘टाइगर-३, भाइजान र रवीन्द्र कौशिकको बायोपिकको काम सकेर अनिष बज्मीको यो चलचित्रमा हात हाल्नेछन् । त्यसका लागि सन् २०२२ को अन्त्यसम्म लाग्न सक्छ ।

सलमान खान र अनिषले यसअघि ‘नो इन्ट्री’ र ‘रेडी’ मा एक साथ काम गरिसकेका छन् । ती दुवै फिल्म बक्स अफिसमा सुपर हिट साबित भएका थिए । भनिन्छ यो नयाँ हास्य चलचित्रमा सलमान खानले निर्वाह गर्ने चरित्रको नाम उनका थुप्रै चलचित्रको नाम जस्तै ‘प्रेम’ नै हुनेछ । अहिले उक्त चलचित्रको स्क्रिप्टको काम भइरहेको छ । समाचारअनुसार सलमान विदेशबाट ‘टाइगर-३’ को छायांकन सकेर फर्किएपछि यो कमेडी फिल्मको कागजी कारबाही पूरा गरिनेछ ।

प्रतिक्रिया