धमिलो पानी ल्याउन एक घण्टा पैदल

नेपालखोज २०७८ भदौ १ गते ८:३३

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ५, तुम्कोट गाउँका बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् ।

साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्थानीयले दुःख झेल्दै आएका छन् । तुम्कोटका थुप्देन ग्यान्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताए ।

घर-आँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एकजनाको काम दैनिक पानी ओसार्ने मात्र छ । खानेपानी योजनामा बाढीले क्षति पुर्‍याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् । सबेरै उठेर तुम्कोटका स्थानीय खानेपानी ओसार्ने दैनिकी बनेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका बासिन्दा प्रभावित भएका छन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्री मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढीले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताए । -रासस
प्रतीकात्मक तस्बिर

प्रतिक्रिया