२० प्रतिशतले नै पार्टी विभाजन गर्न पाउने अध्यादेश आएको एमालेकाे दाबी

नेपालखोज २०७८ भदौ १ गते १३:४५

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले ल्याउन खोजेको दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने भएको छ ।

नेकपा(एमाले)को मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित र संकटतिर धकेल्ने भन्दै एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उनले पार्टी विभाजित गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई बैठकले आह्वान गरेको पनि बताए ।

बैठकले अफगानिस्तान घटनाप्रति नेपाल सरकार किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको निष्कर्ष निकाल्दै अफगानिस्तानमा रहेका नेपालीहरुलाई शिघ्र र सुरक्षित रुपले स्वदेश फिर्ता गराउन माग पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘सार्कको अध्यक्ष हुनुका नाताले संगठनका सदस्य राष्ट्र अफगानिस्तानको बारेमा अन्य सदस्यहरुसँग छलफल र समन्वय गर्ने, सम्बद्ध सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्ने, र त्यहाँ रहेका नेपालीहरुको सुरक्षित स्वदेश फिर्तीका लागि प्रभावकारी र तीव्र तयारीमा लाग्नुको सट्टा वर्तमान सरकार यस घटनाप्रति किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको छ । नेकपा एमाले सरकारको यस्तो निष्प्रभावि र गैरजिम्मेवार तरिकाप्रति खेद प्रकट गर्दै अफगानिस्तानमा रहेका सबै नेपालीहरुको शिघ्र र सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न माग गर्दछ ।’

प्रतिक्रिया