शून्य दशमलव २३ अंकले नेप्से बढ्दा १८ अर्ब २० करोडको सेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन पाँच दशमलव ७२ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने शून्य दशमलव २३ अंकले बढेर तीन हजार एक सय ६० दशमलव ३१ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३५ अंकले बढेर पाँच सय ९३ दशमलव २८ अंकमा पुगेको छ । दुई सय २१ वटा कम्पनीहरुको एक लाख ६१ हजार सात सय २१ पटकको कारोबारमा तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा छवटा समूहको सूचक बढेर सातवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २३ दशमलव १८ अंकले घटेर दुई हजार ८३ दशमलव ८३ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि दुुई सय ५१ दशमलव ७८ अंकले घटेर १७ हजार पाँच सय ९६ दशमलव ३९ अंकमा झरेको छ ।
यीबाहेक निर्जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने दुई सय ९२ दशमलव ७३ अंकले बढेर पाँच हजार नौ सय ५७ दशमलव ८७ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि एक सय १६ दशमलव ९३ अंकले बढेर तीन हजार आठ सय १२ दशमलव ७२ अंकमा चढेको छ ।
यीबाहेक फाइनान्स, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् । आज जोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ६३ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबीएल प्रगति फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेर १३ रुपैयाँ ४६ पैसामा कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता छ सय ४० रुपैयाँ अन्तिम मूल्यमा ८६ करोड ३८ लाख २४ हजार सात सय १७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।








प्रतिक्रिया