मन्त्री भुसालकाे निर्देशन- अनियमितता र भ्रष्टाचार नगर्नू

नेपालखोज २०७८ भदौ १ गते १७:३०

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएकी हुन् । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।

मन्त्री भुसालले भनिन्, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहिँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदी कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ ।’

मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् । उनले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक-फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिए ।

उनले भनिन्, ‘आगामी दिनमा वर्षायामको विद्युत खेर जानसक्ने अवस्थालाई मध्येनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामको फरक-फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय सञ्चालक समितिले गरिसकेको छ ।’

उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसंख्या विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडि बढाएको बताए ।

कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताउनुभयो । वितरण प्रणालीलाई स्वचालित बनाउने काम पनिको पनि प्रक्रिया थालनी गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया