‘पहिरोले सिसडोल जाने सडक बिगार्दा फोहोर व्यवस्थापनमा समस्या भयाे’

नेपालखोज २०७८ भदौ २ गते १३:५४

काठमाडाैं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ ।

यस सम्बन्धमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका कारण फाहोर व्यवस्थापन गर्न नसकेको बताए ।

उनले वर्षात् रोकिएमा सहज रुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘वर्षात्को कारणले जहाँ सिसडोलमा फोहोर व्यवस्थापन गरिरहेका छौं, त्यहाँ गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौं । सहज रुपमा गाडी जान सकेका छैनन् । त्यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन । हरेक वर्षात्मा यस्तै केही दिनमा समस्या देखिन्छन् । पानी पर्न रोकियो भने हामी सहज रुपमा गाडी पठाउन सक्छौँ । पानी रोकिएन भने अझैपनि केही दिनसम्म यस्तो समस्या नपर्ला भन्न सकिदैँन ।’

मेयर शाक्यले बञ्चरेडाँडाँको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग गरे । त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो पनि सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाइ थियाे ।

प्रतिक्रिया