मुख्यमन्त्रीमा पहिलो महिला, वाग्मती प्रदेशमा अष्टलक्ष्मीले लिइन् शपथ

नेपालखोज २०७८ भदौ २ गते २२:४८

काठमाडौं । गणतन्त्र स्थापनापछि मुलुक संघीयतामा प्रवेश गर्‍यो । राजनीतिक दलहरुले मुलुकलाई सात प्रदेशमा विभक्त गरे । तर मुख्यमन्त्रीको जिम्मेवारीमा भने सबै पुरुष मात्र भए । आज भने नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मुलुकको पहिलो मुख्यमन्त्रीका रुपमा इतिहास रचेकी छन् । शाक्य आज वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

आज (बुधबार) नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) नामको पार्टी दर्ता गरेकै दिन शाक्यले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शपथ लिइन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले शपथ खुवाएका थिए । एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले मुख्यमन्त्रीमा शपथ लिएसँगै शाक्यले प्रदेश मन्त्रिपरिषद्‌मा दुईजना मन्त्री नियुक्त गरेकी छन् । उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकासमन्त्री नियुक्ति गरिन् ।

शाक्य नेपाल समूहकी सक्रिय नेतृ भए पनि एमालेको केपी शर्मा ओली पक्षले नै उनलाई बुधबार वाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो ।

प्रतिक्रिया