उच्च मनोबल साथ परिचालित हुन एपीएफलाई गृहमन्त्रीको निर्देशन (तस्बिरसहित)

नेपालखोज २०७८ भदौ ३ गते १४:०१

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका काम कारबाहीबारे जानकारी लिएका छन् ।

त्यसअवसरमा गृहमन्त्री खाणले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै राष्ट्रको सुरक्षा र नागरिकको सेवामा उनीहरुको योगदानको स्मरण गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रको सुरक्षा र आमनागरिकको सेवामा कटिबद्ध रही राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्दै कोभिड-१९ महामारीले देशमा गम्भीर क्षती पुर्‍याइरहेको अवस्थामा नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीहरुले आम नागरिकको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान तथा सीमा नाकामा आवत जावत नियन्त्रण र क्वारेन्टाइनमा खटिएर सशस्त्र प्रहरी कर्मचारीहरुले महामारी व्यवस्थापनमा प्रदर्शन गरेको जिम्मेवारी निर्वाहको मुक्तकण्ठले प्रशंसा गरे ।

गृमहन्त्री खाणले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको अधिकतम उपयोग गर्दै देशका विकट स्थानहरुमा अहोरात्र खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपत् प्रकोप पीडितको उद्वारमा प्रशंसनिय कार्य गर्दै आइरहेको बताउँदै आम नागरिकको सुरक्षा र जीवन रक्षा नेपाल सरकारको मुख्य जिम्मेवारी रहेकोसमेत बताए ।

गृहमन्त्री खाणले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलकासाथ कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिदैं गृहमन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक आधुनिक साधनश्रोत, थप जनशक्ति र सांगठानिक विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

सो समारोहमा गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपत् प्रकोपमा उद्वार, कोभिड–१९ महामारी व्यवस्थापन लगायतका विविध जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहेको उल्लेख गर्नुहुँदै देशभरका विभिन्न ठाउँहरुमा खटिएर तथा द्वन्दग्रस्त मुलुकहरुमा समेत विभिन्न संयुक्त राष्ट्रसंघिय मिशनमा खटिएर विश्वशान्ति स्थापनार्थ पु¥याएको योगदानकोसमेत प्रशंसा गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालले सीमित साधनश्रोत जनशक्तिका बावजुद पनि विविध आधुनिक प्रविधिलाई समेत आत्मसाथ गर्दै हालका दिनहरुमा प्राप्त गरेको उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै संगठनलाई आवश्यक साधन श्रोत तथा जनशक्ति थपका लागि आफुले पहल कदमी लिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्रीबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा बृद्धि भएको उल्लेख गर्दै गृहमन्त्री तथा गृहसचिवबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले भ्रष्टाचार, मानवअधिकार उलंघन तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडि बढिरहेको बताए ।

महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्वार, लगायतका नेपाल सरकारबाट प्राप्त विविध जिम्मेवारीहरुमा देशको उत्तरी सीमानाको विकट भूगोलदेखि दक्षिणी सीमानाको प्रचण्ड गर्मी रहेका स्थानहरुमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दार, अनुशासित, कर्तव्य परायणता एवं पूर्णव्यवसायिक भई अहोरात्र कार्यक्षेत्रमा परिचालित रहँदै जिम्मेवारी निर्वाहमा कटिवद्ध रहँदै निरन्तर कार्यक्षेत्रमा कृयाशिल रहिरहेको बताए ।

उनले कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र उपचार लगायतका विविध जिम्मेवारीहरुमा कर्तव्यनिष्ठ भई घामपानी, भोकतीर्खा र हुरीबतासको पर्वाह नगरी सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा प्रदर्शन गरेको पूर्ण व्यवसायिकताको प्रशंसा गरे ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ५ सय विओपी स्थापना गर्ने लक्ष्य बमोजिम यस आर्थिक वर्षमा १ सय २० वटा बीओपी स्थापना गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि संगठनलाई आवश्यक जनशक्ति, श्रोतसाधन, हातहतियार, जग्गा प्राप्ती एवं भौतिक पूर्वाधर लगायतका विषयमा माननीय गृहमन्त्री तथा गृहसचिवबाट सदा अभिभावकत्व र मार्गनिर्देशन प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।

सो अवसरमा गृहमन्त्री खाण समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, सुरक्षा चुनौती, कोभिड-१९ महामारीमा नेपाल एपीएफ अस्पताल तथा सशस्त्र प्रहरीले पु¥याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत संगठनबाट भएगरेका विविध विषयहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको हो ।

उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिव लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया