‘नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने वित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूबीच बिहीबार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे ।
उनले भने, ‘नयाँ परिस्थिति बनेको छ । आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौं । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैँन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर । बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने कुरा भएको छ । जति छिटो उनको सनाखत हुन्छ । त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
उनले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताए । उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ । यो दुईवटामा आकाश, जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ ।’
अन्तरक्रियामा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याए । नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘फेरी नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रुपमा हामी हिच्किचाइरहेका छौं । चुनाव चिन्ह छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैनकि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ ।’
उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया