चोरीका मोटरसाइकल चलाउने पक्राउ

नेपालखोज २०७८ भदौ ४ गते १३:५२

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने एक जनालाई मोटरसाइकलसहित नियन्त्रण गरेको छ ।

महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्वरको कालो रातो रङको २२० सीसीको पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गोंगबुबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका–२, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२-०१०प ९४४६ खुल्न आएको छ । उक्त नम्बरको मोटरसाइकल १० दिनअगाडि मात्र काठमाडाैं, पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरीपाउँ भनि काभ्रे चौरी देउराली गाउँपालिका ३ घर भई हाल काठमाडौं मूलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर पठाइएको महाशाखाका प्रवक्ता एसपी सन्जीव शर्मा दासले जानकारी दिए ।

प्रतिक्रिया