‘सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्छ’

काठमाडाैं । सिमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सिमाविद् श्रेष्ठद्वारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै सिमाविद् श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताए ।
चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए ।
उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
सिमाविद् श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक भएको छ । पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको उनले बताए ।
नेपाल–भारतमा भएका सिमा समस्या, सिमा अध्ययन गर्न जाँदा आफूले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए ।
नेपालको नक्साको द्वन्द्व, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको पनि उनले बताए ।

प्रतिक्रिया