१० बुँदे सहमति कार्यान्वनमा ओली तयार ! के गर्लान् योगेश ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएका छन् ।
एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमवार भएको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन् ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १० बुँदेको कार्यान्वयनमा जोड दिएको र १० बुँदेको कार्यान्वयनको प्रक्रियालाई अझ तिव्रताका साथ अगाडी बढाउने बताए । प्रवक्ता ज्ञवालीले बैठक उपलब्धीमुलक भएको दाबी गरे ।
१० बुँदेको कार्यान्वयको सम्बन्धमा मंगलवार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने र सो बैठकमा माधव नेपाललाई साथ नदिएका र हालसम्म बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्यहरुपनि सहभागी हुने उनले बताए ।
पार्टी एकताका लागि प्रयास गर्दै आएका एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकतावद्ध बनाउनको लागि आफु जिम्मेवार रहेको प्रतिवद्धता अध्यक्ष ओलीले दिएको बताए ।
मंगलबार बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतीलाई परिस्कृत गर्दै कार्यान्वयनमा लैजाने ओलीले वचन दिएको उल्लेख गरे ।
एमालेको केन्द्रदेखि वडा तहसम्मको कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि स्थायी कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुने भट्टराईले बताए ।
बिगतमा नेता माधवकुमार नेपाल पक्षमा सामेल भएका स्थायी कमिटी सदस्यहरु पार्टी एकताको पक्षमा रहदै नेता नेपाललाई साथ दिएका छैनन् । पार्टी एकताको प्रयासमा जुटेका नेताहरुसँग अध्यक्ष ओलीको बैठकलाई चासोको साथ हेरिएको छ ।

प्रतिक्रिया