रायखोरको पहिराेले राहुघाट नदी थुनियो

म्याग्दी । रघुगंगा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा-६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए ।
‘करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उहाँले भन्नुभयो, “निरन्तर पहिरो खसिरहेको छ ।’ राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो ।
नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ‘ओभरफ्लो’ हुन थाले पनि जोखिम कायमै रहेको मगरले बताए ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।
राहुघाटको तटीय क्षेत्रमा ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन छन् ।
बेनी नगरपालिका-९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए । रासस

प्रतिक्रिया