निर्यात ४४ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब पुग्यो

नेपालखोज २०७८ भदौ १० गते १९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७–०७८ को देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ

। प्रतिवेदन अनुसार यस आर्थिक बर्षमा कुल वस्तु निर्यात ४४ दसमलव चार प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो निर्यात शुन्य दसमलव छ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१ दसमलव सात प्रतिशत र २७ दसमलव सात प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४ दसमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७–०७८ कुल वस्तु आयात २८ दसमलव सात प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५ दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दसमलव एक प्रतिशत, २८ दसमलव छ प्रतिशत र १९ दसमलव छ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । यसैगरी आव २०७७–०७८ कुल वस्तु व्यापार घाटा २७ दसमलव तीन प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो घाटा १६ दसमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात आयात अनुपात नौ दमसलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात आठ दसमलव दुई प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७७–०७८ कुुल विप्रेषण आप्रवाह नौ दसमलव आठ प्रतिशतले वृद्धि भई नौ खर्ब ६१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह शुन्य दसमलव पाँच प्रतिशतले घटेकोे थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह आठ दसमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दसमलव तीन प्रतिशतले घटेकोे थियोे ।

आर्थिक वर्ष २०७७–०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२ दसमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २० दसमलव पाँच प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया