भारतले दिएको ८ करोडको सहयोग कता जाला ?

काठमाडौं । भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो ।
भारतीय राजदूताबासकी मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधीहरुहरु हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्दै मिशन उप–प्रमुख नामग्या खम्पाले राहत वितरण गर्न पाउँदा खुशी लागेको बताए । नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौँदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास गरे ।
नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले बाढी प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाका बाढी प्रभावितहरुका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिएका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने बताए ।

प्रतिक्रिया