शुक्रबार, जेठ ३, २०८२

‘मौद्रिक नीति सन्तुलित कि संकुचित ?’

नेपालखोज २०७८ भदौ ११ गते २०:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्यवन सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज (बिहीबार) गरेको भर्चुअल अन्तर्क्रियामा उनले आर्थिक पुनरुउत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरउत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए ।

गभर्नर अधिकारीले ‘कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउन भन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकहरुको तथ्यांक र बैंकहरुले ग्राहकको विवरण हेर्ने हो,’ उनले भने, ‘गत वर्षको भन्दा यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन अहिले अवस्था धेरै सहज छ, यद्यपि केही क्षेत्र भने समस्यामा छन् ।’

उनले सबैलाई एकै ठाउँमा राखेरभन्दा पनि खास असर परेको उद्योगलाई कस्तो प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको ल्याएको बताए । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकहरुलाई दिएको बताए । ‘ग्राहक डुब्यो भने बैंक पनि समस्यामा पर्ने हो, त्यसैले ग्राहकलाई चिनेर सहुलियत दिन बैंकलाई छोडेको हो,’ उनले भने, ‘ग्राहकको अवस्था र व्यवसायीको बारेमा मुख्य मूल्यांकनकर्ता बैंक नै हो ।’

उनले चालु आवको मौद्रिक नीतिले एक करोडभन्दा सानो ऋणमा २ प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिए । पहुँच नभएका र साना ऋणीको लागि १ करोडभन्दा सानो कर्जामा प्रिमियम तोकेको बताउँदै उनले यो कार्यान्वयन गर्न गाह्रो भएको बताए । गभर्नर अधिकारीले भने, ‘साना ऋणीका लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणीमध्ये ४७ हजार ऋण एक करोडभन्दा माथि कर्जा लिनेछन् । धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ ।’

बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भयो भन्दै प्रचार गरेकोप्रति टिप्पणी गर्दै उनले बैंकहरुले ब्याजदरको जोखिम उठाउने नगरेको आरोप लगाए । ‘ब्याजदरको रिस्क ग्राहकमा थोपर्‍यो, तरलताको राष्ट्र बैंकमा ।‘ ३३ अर्ब अधिक तरलतालाई पनि अपर्याप्त भन्ने कामप्रति उनको चित्त बुझाइ छैन । अहिले कर्जा जति सबै आयात गर्न जाने हो कि भन्ने स्थिति पैदा भइसकेको उनले बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा चालु आबको मौद्रिक नीति धेरै सूचकका आधारमा सहज अवस्थामा आएको बताए । तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘हामीले राष्ट्र बैंकले तोकको सीमाभन्दा पनि धेरै कम ब्याजदरमा कर्जा दिएका छौं ।’

दाहालका अनुसार २०७६ चैतमा ५.०३ रहेको स्प्रेडदर ३.६ प्रतिशत ओर्लिएको छ । १० खर्ब सम्पत्ति वृद्धि हुँदा पनि केही करोड मात्रै ब्याज आम्दानी बढेको छ, सेयर बजारमा वृद्धि हुँदा त्यसमा पहिलेदेखि नै लगानी गरेको र अहिले लगानी गरेर आर्जन गरेको आम्दानी ११/१२ प्रतिशतको रिटर्न मात्रै छ । यदि सेयर बजारबाट पनि केही कमाउन नसकिएको भए १० प्रतिशत रिटर्न पनि असम्भव रहेको उनले बताए ।

राष्ट्र बैंकले साना ग्राहकको प्रोटेक्सनका लागि शुल्क र प्राइस तोकर ठूला ग्राहकको प्राइस ताक्ने छुट बैंकलाई दिने अपेक्षा आफूहरुले गरे पनि त्यसो नभएकामा उनको असन्तुष्टि छ । ‘एक करोडभन्दा सानो कर्जामा २ प्रतिशत मात्रै प्रिमियम कार्यन्वयन गर्न गाह्रो छ, गाउँमा २०/२५ प्रतिशत ब्याज लिएका ऋणलाई बैंकहरुले ७ प्रतिशतको आधार दरमा ५ प्रतिशत नै प्रिमियम तोके पनि १२ प्रतिशतमा कर्जा पाउने अवस्था हुन्छ,’ दाहालले भने, ‘२ प्रतिशतको प्रिमियमले राष्ट्र बैंकले तोकेको सीमासम्म बैंकहरुले लगानी गरे पनि त्यसभन्दा बढी लगानी गर्न प्रोत्साहन गर्दैन ।’

दाहालले सीडी रेसियोमा कार्यान्वयन विभिन्न चरणमा गर्न राष्ट्र बैंकलाई सुझाव दिए । ‘२०७९ असारसम्म ९० प्रतिशत सीडी बनाउनुपर्ने सट्टा तीन चरणमा यो लक्ष्य पूरा गरौं,’ अध्यक्ष दाहालले भने, ‘पुस मसान्तसम्म ९२ बनाऔं, चैत मसान्तसम्म ९१ मा झारौं र असारसम्म ९० बनाऔं ।’

डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले कठिन समयमा आएको मौद्रिक नीति पुनरुउत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको बताए । यद्यपि यो मौद्रिक नीति कार्यान्वयन चुनौतीपूर्ण भने नरहेको उनको तर्क छ । कतिपय बैंकरको माग सम्बोधन नभए पनि विस्तारै त्यसको सम्बोधन हुने विश्वास उनको छ ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताए । होलसेल र रिटेल मर्जर, क्रस होल्डिङ भएकाको मर्जर सकारात्मक भए पनि त्यसमा स्पष्टता नआएको बताए । स्रोत व्यवस्थापनको माग भने सम्बोधन नभएको गुनासो उनले गरे ।

वित्त कम्पनी संघका तर्फबाट आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनील पन्तले एक करोडभन्दा सानो कर्जामा २ प्रिमियम लिँदा फाइनान्स कम्पनीले समस्यामा पर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रको अपेक्षा विस्तारित मौद्रिक नीति भए पनि राष्ट्र बैंकले सन्तुलित भनेर संकुचित मौद्रिक नीति ल्याएको बताए । तरलताको चरम अभावसँगै आर्थिक अवस्था कमजोर भएका बेला विस्तारित मौद्रिक नीति आवश्यक भएको बेला संकुचित मौद्रिक नीति आएको उनले बताए ।

‘कर्जा संकुचन हुनेगरी मौद्रिक नीति आयो, सीडी रेसियाले तीन खर्ब कर्जा क्षमता घटायो, यसले कर्जाको ब्याजदर बढ्न लागिसकेको छ,’ उनले भने, ‘गत वर्ष २१२ अर्बको पुनर्कर्जा ल्याएकामा १ सय ४९ अर्ब गइसकेको थियो,’ उनले भने, ‘कोभिडको दोस्रो लहरलाई ६३ अर्ब पुनर्कर्जाले समाधान गर्छ ?’ उनले राष्ट्र बैंकले कोभिड प्रभावितलाई सहुलित अनिवार्य नगरेर बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गर्नेभन्दा कतिले सहुलियत पाउलान् ? भन्दै प्रश्न गरे ।

सेयर कर्जामा सीमा तोकेकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘सेयर कर्जालाई राष्ट्र बैंकले अत्यन्त अनुत्पादक क्षेत्रका रुपमा हेरेको छ, १२ करोड र चार करोडको सीमा छ, अब १२ करोड कर्जा पनि तीनवटा बैंक धाउनुपर्ने भएको छ,’ उनले भने, ‘सेयर मार्केट विस्तार भइरहेको बेलामा यस्तो नीति नल्याएको भए हुने ।‘
निर्यात व्यवसायी महासंघका सचिव तेञ्जिङ शेर्पाले पुनर्कर्जामा निर्यात व्यवसायीले राहत नपाएको बताए । उनले विगतमा पनि निर्यात व्यवसायीलाई आएको सुविधा नपाएको र अहिले आएको रिफाइनान्स पनि बैंकहरुले सहज रुपमा नदिएको उनले बताए ।

‘मौद्रिक नीतिमा निर्यात भन्ने शब्दलाई नै त्यति व्याख्या नगरेको देखिन्छ । व्यापार घाटा कम गर्न विदेशी मुद्रा ल्याउने निर्यात व्यवसामा अझै पनि मौद्रिक नीतिमा प्राथमिकतामा पर्ने सकेन,’ उनले भने, ‘पुनर्कर्जा पाउने डकुमेन्ट एउटै हुनुपर्नेमा बैंकैपिच्छे फरक किन छ ?’

नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले निर्देशित कर्जाहरु ऊर्जा, पर्यटन, कृषि र एसएमईले मेक इन नेपाल अभियानलाई सपोर्ट गरेको बताए । एक करोडभन्दा सानो कर्जामा २ प्रतिशतमा प्रिमियमले सानो र नयाँ उद्योगलाई प्रोत्साहन हुने जिकिर उनको छ । उनले पनि सेयर धितो कर्जामा सीमा तोकेकामा असन्तुष्टि जनाए ।

प्रतिक्रिया