बिहीबार, वैशाख २०, २०८१

मनाङमा खाद्यान्न अभाव, थोराङ्लाबाट ल्याइयो

नेपालखोज २०७८ भदौ १२ गते १३:०१

मनाङ । बाढीपहिरोका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण बेंसीसहर-चामे-मनाङ खण्ड क्षतविक्षत् भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो ।

खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटेल व्यवसायी विनोद गुरुङले जानकारी दिए ।
स्थानीयलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामिली फाउन्डेसनको सहयोगमा घुमाउरो बाटो हुँदै खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरुङले जानकारी दिए ।

कास्कीको पोखराबाट म्याग्दीको बेनी-मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको उनले बताए । पोखरा-बेनी-मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको उनले जानकारी दिए । उनका अनुसार मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको हो ।

अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्नवर्गका सात घरधुरीसहित कुल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । यहाँका प्रत्येक परिवारलाई १२.५ किलो चामल, आठ किलो दाल, नुन तीन किलो, १.५ लिटर तेल वितरण गरिएको छ । -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया