काठमाडौं महानगरपालिकाको आह्वान : पार्क निर्माणमा सहयोग गरौं

नेपालखोज २०७८ भदौ १२ गते १३:४३

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् ।

शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भएपनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासोसमेत गरे ।

पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन नसकिएको मेयर शाक्यको भनाई छ । उहाँले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काँठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको पनि दोहो¥याए ।

मेयर शाक्यले भन्नु भयो, ‘कम्तिमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं । सार्वजनिक जग्गाहरु धेरै छन । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं ।

बजेटको समस्या होइन् तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिदैन । जहाँ स्थानीयबासीहरुले सहयोग गर्छ, त्यहाँ स्वभाविक रुपमा काम गर्न सजिलो हुन्छ । जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डवभित्र ठूलो प्रर्दशनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए ।

उनले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । समाज कल्याणको क्षेत्रमा काम गर्ने र परिषद मातहत रहेको भृकुटीमण्डवमा प्रर्दशनी स्थल बनाउने काममा ढिलाई गर्न नहुने पूर्व मेयर स्थापितको भनाई छ ।

कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गरेका थिए । वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका उनले वाग्मती प्रदेश सरकारको १ करोड ३८ लाख सहयोगमा निर्माण गरिएको सो करिडोरको उदघाटन गरेका थिए । यता, मेयर शाक्यले उद्घाटन गरेका झिंगु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको थियो ।

प्रतिक्रिया