पहिरोले अवरुद्ध नागढुंगा–नौबीसे खण्ड खुल्याे

नेपालखोज २०७८ भदौ १४ गते १२:३९

काठमाडाैं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबीसे सडकखण्ड सुरू भएको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खन्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए।

अविरल वर्षासँगै सो सडकखण्ड हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो । पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो ।

प्रहरी निरीक्षक थापाले अब सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए । उनले भने, ‘बिहान साँढे ५ बजेतिर पहिरो गयो । सात बजेतिर वान वे बाटो खुलायौं । अहिले सडक पूर्ण रुपमा सुरु भएको छ । अब पहिरोले असर नगर्ला ।’

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम भईरहेको छ । पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन् । रासस

प्रतिक्रिया