भरतपुर अस्पतालमा एक वर्षमा सातौं मेडिकल सुपरिटेन्डेन्ट

चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।
एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौं मेडिकल सुपरिटेन्डेन्ट हुने अवसर पाएका हुन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए।
अधिकारी अध्यक्ष भएयताको सातौं मेसु पौडेल भएका हुन् । विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा राजन पाण्डेलाई मेसु बनाइएको थियो ।
पाण्डे दुई महिनापछि मंसिर ८ गते सरुवा भएसँगै डा जगन्नाथ तिवारी मेसु भएका थिए । त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।
झन्डै दुई महिनापछि जेठ १३ गते डा. रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा. डा पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ ।
अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ । यो संघीय अस्पताल हो ।
छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् । रासस

प्रतिक्रिया