शुक्रबार, वैशाख १४, २०८१

‘खोई त ओई मलाई कोरानाको सुई…’

संस्कृतिलाई बङ्ग्याएर अर्को ट्र्याकमा लगे त उच्छृंखल भइहाल्यो नि । सीमा नाघेर गाइएका गीत कलाकार आफैंले सुधार्नैपर्छ ।

नेपालखोज २०७८ भदौ १६ गते ११:३६

हाइलाइट्स :
–पछिल्लो समय मलाई तीज अलि बढी नै लागेको छ । यसपालि आफैंले सिर्जना गरेका १२ वटा गीत गाएँ । अरूले रचना गरेका पनि ६ वटा गाएँ ।
–तीजलगायत सबैखाले गीत गाउँछु । २०६३ देखि अहिलेसम्म लगभग नौ हजार बढी त गीत रेकर्ड गरें । नौ हजारमा आधा गीत नचले पनि आधा गीत मज्जाले चले । सुरुका दिनमा एक–दुईवटा तीजका गीत गाएँ । खुमन अधिकारीको स्वर तीज गीतमा म्याच गर्छ भन्ने आमदर्शक तथा स्रोतामा एक किसिमको छाप पर्यो ।
–मौलिकता भएको नै तीज गीत हो । तीज गीत गाउँदा नेपाली संस्कार र संस्कृति बिर्सिनु हुँदैन । मौलिक गीतलाई प्राथमिकता दिँदै जाँदा दर्शक, स्रोताले मलाई तीजमा पनि उत्तिकै माया गर्नुभयो । सहकार्य गर्नु भएका सबै गायिका मसँग खुसी हुनुहुन्छ ।
–मैले गाएको पहिलो गीत ‘ईश्वर पनि देब्रे परेछन्’ भन्ने हो । २७औं एल्बमको ‘लाखौं तारा उज्यालो जुनकै छ…’ गीत हिट भयो । दुई वर्षअघि एकै साल २९ वटासम्म तीज गीत गाइएछ । मैले गाएका गीतहरू चल्दै चलेन, फ्लप नै भयो भन्ने छैनन् ।
–आफूले गाएका सबै गीत मलाई उत्तिकै प्यारो लाग्छ । अत्यधिक चलेकोचाहिँ ‘आज त भेट्न आउँदिन है कालु ’, सीआरबीटी÷पीआरबीटी पनि तीन महिनासम्म एक नम्बरमा बसेको थियो । ‘अब त मैले नी झुम्का लगाउँछु’, ‘शिव-शंकर भोला’, ‘आशीर्वाद माग्छु’ पनि चल्यो । यो साल गाएका गीतमा ‘शिवजी पार्वती कता हो’ र ‘कुरा काटन’ चर्चित छन् । ‘कुरा काटन’ सामाजिक सन्जालमा पनि उत्तिकै चर्चित छ । ७० लाख बढीले युट्युबमा भिडियो हेरेका छन् ।
–अहिले धेरैजसोले कोरोनाको भ्याक्सिन लाउन नपाएको अवस्था छ । काठमाडौंमा त धेरैजसोले लगाएका छन् । तर, काठमाडौंबाहिर अलिक कमले लगाएका छन् । ‘यत्तिकोले चल्छ, खोई त ओई कोरोनाको सुई…’ भन्ने गीतचाहिँ दर्शक स्रोताले हेर्नैपर्छ । टिकटकमा भाइरल भएको कोरानासम्बन्धी धेरै सन्देश दिएको गीत हो यो ।
–कोरोना संक्रमणका कारण गत साल पाँचवटा देशको तीज विशेष कार्यक्रममा सहभागी हुन सकिनँ । कोभिडले थिचिरहेका बेला यो साल पनि केही हुनेजस्तो मलाई लाग्दैन । आजभोलि स्टुडियोमा गीत रेकर्ड गर्न र रिलिज गर्नमै व्यस्त छु ।
–व्यावसायिकतामा पनि थोरै ढल्किएर, हल्काफुलका माया प्रेमका कुरा पनि मिश्रण गरेर, मौलिक संस्कृतिमा पनि ढल्किएर, तीजको टिपिकल भाषा प्रस्तुत गरेर, सबैलाई सुन्दा आनन्द लाग्ने र नाचुनाचु लाग्ने गीत गाउन खोज्नु मेरो प्रयास हो । संस्कृतिभन्दा बाहिर गएर गाएको भए धेरै गाली खाइन्थ्यो होला ।
–म कुन श्रेणीको हुँ, के गर्नुहुन्छ के हुँदैन भन्ने चेतना हरेक कलाकार आफैंमा हुनुपर्छ । आफूमा मूल्यांकनको क्षमता भएन भने अग्रजसँग सल्लाह गर्नुपर्छ । उच्छृंखल खालको, परिवारसँग बसेर हेर्न र सुन्नै नसकिने गीतचाहिँ कसैले पनि गाउने नगरौं । म पनि गाउँदिनँ । यस्ता गीतलाई कसैले पनि प्रोत्साहन नगरौं ।
–गीत हिट हुनलाई मौलिकतालाई ध्यानमा राख्दै सामान्य शब्द प्रयोग गरेर मिठासपूर्ण आवाजमा गाए काफी हुन्छ । संस्कार र संस्कृतिलाई बङ्ग्याएर अर्को ट्र्याकमा लगे त उच्छृंखल भइहाल्यो नि । सीमा नाघेर गाइएका गीत कलाकार आफैंले सुधार्नैपर्छ ।

प्रतिक्रिया