युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता : जनार्दन शर्मा

नेपालखोज २०७८ भदौ १६ गते १२:१४

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
आज (बुधवार) ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशको मुहार फेरिने बताएका हुन् ।

अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए । प्रकृतिले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने शर्माको धारणा रहेको छ ।

अर्थमन्त्री शर्माले भने, ‘थुप्रै राजनीतिक परिवर्तनहरु भए, थुप्रै आदोलन, युद्ध संघर्ष हामीले गर्यौं, जनयुद्ध, जनआन्दोलन तमाम कुराहरु भए, त्यो केवल राजनैतिक परिवर्तन र राष्ट्र निर्माण र समृद्धिका लागि थिए ।’

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरु निराश भएको र अब त्यस्तो अवस्था आउन नदिने आश्वासन दिनुभयो । अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने उनले बताए।
अर्थमन्त्री शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यसविरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको बताए। उनले देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ता रहेको भन्दै आफूसँग भएका श्रोत साधनहरुलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।

प्रतिक्रिया