बिओकेमा ग्रिन लाईफ इन्टरनेशनलले लिएको करोडौं रुपैयाँकाे बिवाद अझै मिलेन

नेपालखोज २०७८ भदौ १६ गते १५:२५

काठमाडौं । बैंक अफ काठमाडौ (बिओके) मा ग्रिन लाईफ इन्टरनेशनलले लिएको करोडौं रुपैयाँ कर्जा सम्वन्धी बिवाद अझै नसुल्झिएको पाईएको छ ।
उक्त कर्जामा भएको अनियमितता सम्वन्धी फाईल नेपाल राष्ट्र बैंक र केन्द्रिय अनुसन्धान व्युरो समेतमा भएको भएतापनि उक्त कर्जा भुक्तानी सम्वन्धी बिवाद भने अझै सुल्झिएको छैन ।
बैंक उच्च श्रोतका अनुसार उक्त कर्जा प्रकरणमा ऋण असुली न्यायधीकरणले २०७३ जेठ १० गते ऋण असुली गर्नको लागि फैसला गरेको थियो । तर उक्त हालसम्म पनि बैकले उक्त फैसला पुुर्णरुपमा कार्यान्वयन गरेको छैन, यदि गरेको भए सायद त्यो कर्जामा अहिले समस्या हुुने थिएन, श्रोतले भनेको छ । तत्कालीन समयमा ग्रिन लाईफको कर्जा सम्वन्धमा न्यायधीकरणले गरेको फैसलामा भनिएको थियो, ‘बैंक अफ काठमाडौं लिमिटेडले प्रतिवादीहरु ग्रिनलाइन इन्टरनेशनल प्रालि प्रमोदशमशेर जबरा, श्रीहरशम्शेर जबरा, किरणशेखर अमात्य र सोनी राज्य लक्ष्मी शाहबाट असुल गर्नुपर्ने एकमुष्ठ साँवा ब्याज रु १०,५९,००,३३७.६६ र मिति २०७०।१२।२५ देखि निर्णय मिति २०७३।२।१० सम्मा जम्मा ७७६ दिनको दाबी साँवा रु. ८,७२,९८,६४६.९५ को वार्षिक १० प्रतिशत ब्याजदरले कायम हुने ब्याज रकम रु. १,८५,५९,९३१.५२ समेत गरी जम्मा रु. १२,४४,६०,२६९.१८ (अक्षेरुपी बाह्र करोड चौवालिस लाख साठी हजार दई सय उनान्सत्तरी रुपैयाँ अठार पैसा मात्र) र दावी साँवा रकम रु.८,७२,९८,६४६.५९ को फैसला मितिदेखि भरिभराउ हुने दिनसम्मको वार्षिक १० प्रतिशत ब्याजदरले हुन आउने ब्याज रकमसमेत हिसाब गरी ऋण असुली अधिकृतले बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९ को नियम २७, २८ र २९ तथा प्रचलित कानूनबमोजिम वादी बैंक अफ काठमाडौं लिमिटेडलाई प्रथमतः प्रतिवादी ग्रिन लाइन इन्टरनेशनल प्रा.लिको चलअचल जायजेथा (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका पसल, स्टकमा रहेका मदिराजन्य सामानहरुसमेत) बाट असुल उपर गरी भराई दिनुपर्ने, सोबाट वादी बैंकको लिन बाँकी असुल हुन नसकेमा असुल हुन नसकेको जति रकम ऐ. प्रा.लि.का सञ्चालक अध्यक्ष एवं व्यक्तिगत जमानीकर्ता प्रमोदशमशेर जबराको चल अचल जायजेथाबाट असुल उपर गरी भराई दिनुपर्ने र सोबाट समेत वादी बैंकको लिन बाँकी असुल हुन नसकेमा असुल हुन नसकेको जति रकम व्यक्तिगत जमानीकर्ताहरु श्रीहरशमशेर जबरा, किरणशेखर अमात्य र सोनी राज्य लक्ष्मी शाहको चल अचल जायजेथाबाट निजहरुले गरिदिएको व्यक्तिगत जमानीको लिखतको हदसम्म प्रचलित कानूनबमोजिम वादी बैंकलाई भराई दिनुपर्ने ठहर्छ ।’ फैसलामा भनिएको छ ।
तर त्यति बेला नै ऋण असुलीको लागि न्यायधीकरणले बाटो खुल्ला गरिदिएको भएपनि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त कै बदनियतकाकारण बैंकले उक्त कर्जा उठाउन नसकेको हो, श्रोतले भनेको छ । न्यायधीकरणको फैसला कार्यान्वनमा नहुनुमा पनि बैंकका प्रमुुख कार्यकारी अधिकृत शोभनदेव पन्त, ऋणी राणा, बैकका तत्कालीन सञ्चालक डा हेमराज सुवेदी सहितका व्यक्तिहरुको भुमिका उल्लेख्य रहेको दावी बैंक श्रोतले गरेको छ ।

यो कर्जा प्रकरणमा मुछिएकै कारण सञ्चालक डा. हेमराज सुवेदी सञ्चालक पदबाट बाहिरिई सकेका छन् भने पन्त पनि प्रमुख कार्यकारी अधिकृतको पदबाट बाहिरिईसकेका छन् । अहिले बैंक सञ्चालक समितीको अध्यक्ष पदमा प्रकाश श्रेष्ठ रहेकाछन भने व्यवस्थापकीय प्रमुुखको रुपमा श्रवण लाल मास्केलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया