शनिबार, जेठ ५, २०८१

कोरोना संक्रमण भए-नभएको अब ३ मिनेटमै पत्ता लाग्ने

नयाँ कोभिड टेस्ट तयार गर्ने बकिङ्‍घम युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार यसले आरटी पीसीआर टेस्टभन्दा निकै छिटो र सटिक नतिजा दिन्छ ।

नेपालखोज २०७८ भदौ १७ गते ९:०३

लन्डन । ब्रिटिस वैज्ञानिकहरुले आरटी पीसीआर टेस्टको नयाँ विकल्प तयार गरेका छन् । यो विकल्प आगामी तीन महिनापछि आममानिसमा प्रयोगका लागि उपलब्ध हुने बताइएको छ । आरटी पीसीआर टेस्टजस्तै यसमा पनि स्वाबको नमुना (स्याम्पल) जाँच गरिन्छ । यो जाँचबाट मानिस कोरोना भाइरसबाट संक्रमित भए-नभएको कुरा ३ मिनेटमै पत्ता लाग्ने दाबी गरिएको छ ।

नयाँ कोभिड टेस्ट तयार गर्ने बकिङ्‌घम युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार यसले आरटी-पीसीआर टेस्टभन्दा निकै छिटो र सटिक नतिजा दिन्छ । शोधकर्ताहरुले कोभिडको यो नयाँ टेस्ट (जाँच) लाई आरटीएफ-ईएक्सपीएआर नाम दिएका छन् ।

शोधकर्ताहरुले एउटा यस्तो डिभाइस विकसित गरेका छन् जसले कोरोना भाइरसको संक्रमण त्यसको जेनेटिक मेटेरियलका आधारमा पत्ता लगाउँछ । यो जाँचका लागि गला वा नाकबाट लिइएको स्याम्पल (नमुना) लाई उक्त डिभाइसमा राखिन्छ र यही डिभाइसले कोरोना भाइरसको संक्रमण भए-नभएको निर्क्योल दिन्छ । यो जाँच दक्ष व्यावसायिक व्यक्तिहरुले गर्ने बताइएको छ । यो जाँच छोटो समयमै धेरै जनाको जाँच गर्नुपर्ने ठाउँका लागि बढी उपयुक्त हुनेछ । जस्तो- विमानस्थल । अब कुनै मुलुक वा क्षेत्र प्रवेश गर्दा यो फास्ट स्क्रिनिङबाट गुज्रनुपर्ने हुनसक्छ ।

युनिभर्सिटीज स्कुल अफ बायोसाइन्सेजका प्रोफेसर टिम डेफ्रनका अनुसार, यसमा स्याम्पललाई डिभाइसमा लोड गर्नेदेखि लिएर रिजल्ट बताउनेसम्मका लागि ८ मिनेटसम्म समय लाग्न सक्छ । यदि मानिसमा भाइरसको लोड बढी छ भने यसले ४५ सेकेन्डमै नतिजा दिन्छ । शोधकर्ता प्रोफेसर एन्ड्रयू बेग्स भन्छन्- खुबीको मामिलामा यो नयाँ जाँचविधि आरटीपीसीआरभन्दा कुनै पनि कुरा वा स्तरमा कम छैन । यसले पोजेटिभमा ८९ प्रतिशत तथा नेगेटिभमा ९३ प्रतिशत सटिक जानकारी दिने दाबी गरिएको छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया