‘वडा अधिवेशनले विधिसम्मत क्षमतावान् नेतृत्व चयन गरोस्’

नेपालखोज २०७८ भदौ १८ गते ९:१६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको ‘वडा अधिवेशनले विधिसम्मत क्षमतावान् नेतृत्व चयन गरोस्’ भन्दै शुभकामना दिएका छन् ।

‘संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि-प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ सिंहले शुभकामना सन्देशमा भनेका छन् । आजदेखि कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि वडा तहका अधिवेशनहरु सुरु भएका छन् ।

उनले संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यकता रहेको पनि बताएका छन् । ‘राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो । कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ । कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपिल गर्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया