चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न

काठमाडौँ । काठमाडौँकाे चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सन्दर्भमा आज कांग्रेस चन्द्रागिरि नगर कार्यसमिति र नेपाल तरुण दल काठमाडौँ क्षेत्र नं ९ र १० को संयुक्त आयोजनामा ग्रिनल्यान्ड बैङ्केट त्रिभुवनपार्कमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको हो ।
कार्यक्रममा काठमाडौँका कांग्रेस सभापति सबुज बानियाँले पार्टीभित्र अग्रजको सम्मान गर्दै युवालाई समेटेर अगाडि बढेमा पार्टी गतिशील र चलायमान हुने बताए । उनले पार्टीको १४औँ महाधिवेशनमा धेरैभन्दा धेरै युवा प्रतिनिधित्व गराउनुपर्नेमा जाेड दिए ।
नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १० बाट विजयी सांसद एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले युवालाई सीप र उद्यमशीलतासँग जोडे मात्र मुलुकको विकास हुने भन्दै कांग्रेसले युवालाई उद्यमसँग जोड्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको बताए ।
कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिका सभापति एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा सबै मिलेर कांग्रेसको अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए । काठमाडौँको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा छन् । उक्त भेलामा १५ वटै वडाका युवा तथा तरुणको सहभागिता रहेको कांग्रेस चन्द्रागिरिका युवा नेता सरोज थापाले जानकारी दिए ।- रासस

प्रतिक्रिया