पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउ : सुवास नेम्वाङ

काठमाडाैं । नेकपा एमालेका संसदीय दलका उपनेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वलाई चुनौती दिएका छन् ।
विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको बताउँदै त्यस विपरीत गएर माधव नेपालहरूले पार्टी फुटाएको आरोप लगाए । उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खालि तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे ।
उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको भनेर माधव पक्ष नेताहरूलाई प्रश्न गर्न पनि पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गरे ।
उनले घर–घरबाट बाहिर आएर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टी निकट कानुन व्यवसायीहरूलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए ।
लोकतन्त्रमा दल फुटाउने काम गर्नु अपराध हुने उनको तर्क थियो ।

प्रतिक्रिया