आइतबार, वैशाख २३, २०८१

भारतमा ६७.७२ करोडले पाए कोरोनाविरुद्धको खोप

नेपालखोज २०७८ भदौ १९ गते १३:२३

नयाँदिल्ली । भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् ।

तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो चौबीस घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ । खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यो संख्या ९७.४३ प्रतिशत हो । भारतमा अहिलेपनि चार लाख पाँच हजार ६८१ जना संक्रमित अवस्थामै रहेका छन् ।

सक्रिय संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । दैनिक नयाँ संक्रमितको संख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।

भारतमा पछिल्लो चौबीस घण्टामा ४२ हजार ६८२ जना नयाँ संक्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । रासस/एएनआई

प्रतिक्रिया