रावलको चुनौती- एमसीसीलाई राष्ट्रघाती भनेकै आधारमा पक्राउ गरेर देखाऊ (भिडियोसहित)

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा शनिबार अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर-घरमा पुर्याउन लागेको पनि उनले बताए । उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसविरुद्ध आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
उनले भने, ‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्याइँदै छ । नेपाललाई पराधीन उपनिवेश बनाउन पाइँदैन भनेर आ-आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरुले भारतमा इस्ट-इन्डिया कम्पनी खोले त्यो इस्ट-इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’
एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरुप नभएको उनले उल्लेख गरे । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उनले बताए । एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनले बताए ।
उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सुचना गरेको भन्ने आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिए ।
उपाध्यक्ष रावलले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे । उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयम् प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधिनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गरे ।
अहिले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर भारतीय हेलिकाेप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहेको उनले बताएका छन् । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि भारतले धावा बोल्दा पनि सरकार चुप लागेको भन्दै उनले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको उपाध्यक्ष रावलको भनाइ छ ।

प्रतिक्रिया