सरकारले भन्यो- दसैँसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइ सक्छौं

काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम तिव्र छ । प्राथमिकताको आधारमा नागरिकहरुले धमाधम खोप लगाइ रहेका छन् भने सरकारले पनि विभिन्न छिमेकी मुलुकहरुबाट खोप सहायता र खरिद गरि ल्याउने क्रम जारी छ । यस्तैमा सरकारले आउँदो दशैंसम्ममा करिब ३३ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने दावी गरेको
छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताएका छन् ।
अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उनले बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने पनि बताए ।
त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको पनि राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।
नेपाल जम्मा ५ करोड ५० लाख खोप आवश्यक पर्दछ । यसमध्ये दशैंसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाउने योजना सरकारले बनाएको छ । नेपालमा हालसम्म १ करोड ४ लाख डोज खोप लगाइएको छ । जसमा पहिलो डोज झण्डै १८ प्रतिशतको हाराहारीमा लगाइएको छ भने पूर्ण मात्राको खोप १५ प्रतिशत नागरिकले लगाइ सकेको राज्य मन्त्री श्रेष्ठले बताए । चैतको अन्तिमसम्म शतप्रतिशत नागरिकलाई कोरोनाको पूर्ण खोप लगाइ सक्ने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया