‘कोरोना रोकथाम गर्न सबैकाे सहयोग आवश्यक’

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एसियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि सुरू भएको ७४औं बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।
उनले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित् गर्न आवश्यक रहेको र पहुँच नपुगकाहरुलाई प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री देउवाले नेपालतर्फबाट स्वास्थ्यमन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गरे । बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताए । उनले अहिले नेपालमा एक करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको भन्दै आगामी असोज महिनाभित्रमा नै ३३ प्रतिशतलाई खोप लगाउने जानकारी दिए ।
“देशपिच्छे र ठाउँपिच्छे फरकफरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र सङ्ख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पताल भरिएको अवस्था छ” उनले भने ,“हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनुहुँदैन ।”
क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालले कोभिड–१९ ले हाम्रा स्वास्थ्य प्रणालीलाई निकै ठूलो क्षति पुर्याएको बताए । उनले सबै स्वास्थ्य सेवा अवरुद्ध र स्वास्थ्यकर्मी गलेका भन्दै हाम्रा सामुन्ने बहुमुखी चुनौती रहेको धारणा राखे ।
बैठकमा समेटिएका ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी छन्।
बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगको उन्मूलनलगायतका विषयमा छलफल हुनेछ ।
यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ । रासस

प्रतिक्रिया