ओलीको प्रश्न- सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता ? भनि प्रश्न गरेका छन् ।
युवा संघ नेपालले गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । साथै ओलीले संसद्को आगामी अधिवेशनको पहिलो दिन भदौ २३ गते प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबारे गम्भीर प्रश्न उठाउने पनि बताएका छन् ।
प्रमुख प्रतिपक्ष एमालेको विरुद्धमा सभामुख सापकोटा हिस्सेदार भएको भन्दै त्यसका बारेमा प्रश्न उठ्ने ओलीले बताएका हुन् । उनले भने, ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउने षडयन्त्रमा सरिक हुने, सामेल हुने, षडयन्त्रको हिस्सेदार, भागीदार हुने, एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन ? त्यो नभएपछि सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनै पर्ने हुन्छ । अग्निसप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो ?
प्रतिनिधिसभा पुनःस्थापना भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले दिएको अभिव्यक्तिप्रति पनि एमाले अध्यक्ष ओलीले आक्रोश व्यक्त गरे । सभामुख सापकोटाले प्रमुख प्रतिपक्षविरुद्ध हमला बोलेको ओलीको भनाइ थियो ।
यस्तै, उनले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भन्ने प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष ओलीले सोधे, ‘तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न ?’ धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले प्रश्न गरेका छन् ।

प्रतिक्रिया